एजेन्सी। टर्की सरकारले गुणस्तरहीन भवन बनाउने निर्माण व्यवसायीमाथि अनुसन्धान सुरु गरेको छ। गृहमन्त्री सुलेमान सोयलुले पाँच सय ६४ निर्माण व्यवसायीमाथि आपराधिक अनुसन्धान थालिएको घोषणा गरेका हुन्।
गत माघ २३ गते टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर भएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । लाखौँ घरबारविहीन भएका छन् ।
गृहमन्त्रीका अनुसार अनुसन्धानमा तानिएकामध्ये एक सय ७७ जनालाई हिरासतमा लिइएको छ भने एक सय ७५ जना जमानतमा रिहा भएका छन्। अनुसन्धानमा तानिएकालाई देश छाडेर बाहिर जानबाट प्रतिबन्ध लगाइएको छ । भूकम्प हुने वित्तीकै टर्कीका सञ्चार माध्यमले निर्माण संहिताको वेवास्ता गर्दै निर्माण व्यवसायीले गुणस्तरहीन सामग्री प्रयोग गरेर बनाएका भवन ढलेका भन्दै उनीहरूको तीव्र आलोचना गरेका थिए ।
भूकम्प प्रभावित ११ प्रान्तका १२ लाख ५० हजार भवन परीक्षण गरिएको, एक लाख ६४ हजार तीन सय २१ भवनका पाँच लाख २० हजार फ्ल्याटमा क्षति भएकोले तिनको मर्मत गर्नुपर्ने वातावरणमन्त्री मुरत कुरुमले जानकारी दिएका छन् । राष्ट्रपति तैयेप इर्दोगानले भूकम्प प्रभावित प्रान्तमा आगामी एक वर्षमा दुई लाख ७० हजार घर बनाउने घोषणा गरेका छन् ।