अर्घाखाँची । जिल्लामा एक १८ वर्षीय युवकले विद्युतीय मोटरसाइकल बनाएका छन् । सन्धिखर्क नगरपालिका–१, पाणिनीचोकका सागर पोखरेलले बिहीबार एक भव्य समारोहका बीच आफूले बनाएको विद्युतबाट चल्ने मोटरसाइकल सार्वजनिक गरेका हुन् ।
प्रदर्शन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल लगायतका जनप्रतिनिधि, विभिन्न सरकारी निकायका प्रमुख तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले पोखरेलको प्रशंंसा गरेका थिए ।
पोखरेलले ७ सय ५० वार्ड क्षमताको मोटर प्रयोग गरी मोटरसाइकल तयार गरेको र आरपिएम ४५० प्रतिमिनेट क्षमताको रहेको बताए । उनले गत एक बर्षदेखि विभिन्न सामग्री प्रयोग गरी मोटरसाइकल बनाउन सिकेको र धेरै पटक बनाउँदै बिगार्दै गरेर अभ्यस्त भएको सुनाए ।
उनी हाल बुटवलको देवीनगरचोकस्थित नविन औद्योगिक केदारबहादुर रिता सेकेन्डरी हाईस्कुलमा कक्षा १२ मा ओभरसियर पढ्दैछन् ।