काठमाडौं। पोखराको रूपातालको आकार बढाउन परियोजना सुरु भएको छ। फिल्डमै कार्यालय खोलेर काम थालिएको हो। रूपाताल अहिले कास्कीको तेस्रो ठूलो ताल हो।
नजिकै भएको बेगनास तालमा पर्यटकको भीड लाग्छ। बेगनास पुगेका कतिपय पर्यटकलाई नजिकै रहेको रूपातालबारे ज्ञान छैन। सरकारले रूपाताललाई आय आर्जनसँग जोड्ने गरी परियोजना अघि बढाएको हो। आउँदो पाँच वर्षमा अहिले भइरहेको तालभन्दा पौने दुई गुणा आकार बढ्छ भने पानी पनि साढे तीन गुणा थपिन्छ। त्यसका लागि छ मिटर अग्लो र ६ सय मिटर लामो बाँध बनाइनेछ। बाँध बेगनासतालको जस्तै बन्नेछ। त्यहाँ बाँध मात्र बन्यो, यता अरू फिचर पनि हुन्छ, आयोजना प्रमुख तुलसी भट्टराईले बताए।
आयोजना निर्माणका लागि अधिकांश टेण्डर भइसकेको छ। ड्यामको ठेक्का पनि भइसक्यो। एक्सेस रोडको ठेक्का लाग्दै छ, भने फुट ट्र्याक र साइकल ट्र्याकको काम पनि सुरु हुन्छ। भौतिक प्रगति ३० प्रतिशत कटिसक्यो जसले गर्दा तोकिएकै समयमा तोकिएका सबै काम सकिन्छ भन्ने विश्वास भएको उनले जानकारी दिए।
आर्थिक वर्ष ०८२।०८३ भित्र काम सक्ने गरी आयोजना सुरु गरिएको हो। पूर्ण रूपमा चार अर्बको आयोजना हो। मुख्यतः तालको क्षेत्रफल बढाउने उद्देश्यले नै यो आयोजना सुरु गरिएको हो। आयोजनाका लागि झण्डै एक हजार रोपनी जग्गा अधिग्रहणका लागि सूचना निकालिएको छ। ०७४ सालमा अधिग्रहणका लागि एक हजार ४ सय ७२ रोपनी जग्गा रोक्का राख्ने सूचना जारी गरेको थियो। त्यसमध्ये ९ सय ९५ रोपनी नौ आना जग्गाको मुआब्जा वितरण गर्ने निर्णय भएको छ। अहिलेसम्म ७६ करोड ७९ लाख ७१ हजार रूपैयाँ मुआब्जा वितरण गरिसकेको आयोजनाले जनाएको छ।