मोरङ। विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सिटी बस सञ्चालनमा ल्याउने भएको छ। महानगरको सडक र मोडमा कति यात्रु क्षमताका बस सञ्चालन गर्नु उपयुक्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षण समेत गरिएको छ ।
महानगरकी कार्यबाहक प्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालगायत टोलीले यसबारे जानकारी लिएका थिए । महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय गरिसकेको छ । लगानी बोर्डको सौजन्यमा महानगरले सिटी बस सञ्चालन गर्न लागेको कार्की बताउँछन् ।
ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क आवागमनको व्यवस्था गर्न लागिएको छ । महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने कार्कीको भनाइ छ । बस वातानुकूलित सुविधासहितको हुने महानगरले जनाएको छ ।
सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित महानगरले सिटी बस सञ्चालन गर्न लागेको हो । प्रारम्भिक चरणमा १९ सिटी बस सञ्चालनको तयारी छ ।