ताप्लेजुङ। जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट तथा आईसीयू बेड जडान गरेको छ। अक्सिजन प्लान्ट ७१ लाख ५० हजार लागतमा जाडन गरेको हो।
उक्त अक्सिजन प्लान्टबाट दैनिक ६५ लिटरका २० वटा अक्सिजन सिलिन्डर तयार हुन्छ। २ बेडको आईसीयू बेड १ करोड ८ लाख रुपैयाँ खर्चेर संञ्चालनमा ल्याइएको हो। अक्सिजन प्लान्ट जडान र आईसीयू बेड अनिवार्य हुनुपर्ने चौतर्फी आवाज उठेपछि संघीय सरकारले उपलब्ध गराएको बजेटबाट ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र २ बेडको आईसीयू बेड बल्ल सञ्चालनमा आएको हो।
कोरोना संक्रमणका बेला जिल्लाबासीले स्थानीय तह, प्रदेश तथा संघीय सरकारलाई दिएको दबाबका बावजुद ढिलैभए पनि अक्सिजन प्लान्ट तथा आईसीयू बेड सञ्चालन गर्न सम्भव बनेको छ। यद्यपि आईसीयू सञ्चालनका लागि जिल्ला अस्पतालका कर्मचारीलाई अझ दक्ष बनाउन तत्कालै तालिम गर्न पठाउने अस्पतालले तयारी गरेको छ।
अक्सिजन प्लान्ट तथा आईसीयू बेड जडान भएकाले कुनै पनि बेला दक्ष जनशक्तिको अभाव हुनु हुँदैन। अझ आगामी दिनमा कोरोना संक्रमणको अवस्था के हुने हो अग्रिम आकंलन गर्न गाह्रो छ। त्यही भएर काठमाडौँस्थित टिचिङ हस्पिटलमा तालिमका लागि समन्वय गर्ने विपन्नका लागि स्वास्थ्य नेपालले जनाएको छ।
कोरोना संक्रमणको बेला जनप्रतिनिधिका लागि अत्यधिक दबाब आएकाले संघ सरकारले आईसीयू र अक्सिजन प्लान्ट जडान गर्न बजेट विनियोजन गरेको थियो। प्रदेश नं. १ का १४ जिल्लामध्ये थोरै जिल्लाले मात्र बजेट कार्यान्वयन गरेको हो। अब जिल्लामा पूर्वाधार निर्माण तथा स्तरोन्नतिसँगै दक्ष जनशक्ति व्यवस्थापन हुनुपर्नेमा पूर्वपर्यटनमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले जोड दिए।
अस्पतालमा आईसीयू बेड तथा अक्सिजन प्लान्ट जडानले जिल्लाबासीलाई खूसी तुल्याएको छ। अब उपकरण जडानसँगै दक्ष जनशक्तिको पदपूर्ति र प्रभावकारी सेवा सुविधा उपभोग गर्न पाउनेमा आशा पलाएको स्थानीयले बताए।