उदयपुर । उत्पादन क्षमता वृद्धिका लागि उदयपुर सिमेन्ट उद्योगले दुई नयाँ योजना तयार गरेको छ । उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न उदयपुर सिमेन्ट उद्योगले करिब ५० करोड खर्चेर दुई प्लान्ट जडान गर्न लागेको हो ।
पुराना मेसिन र प्रविधिबाट सञ्चालन हुँदै आएको सिमेन्ट उत्पादन गर्ने प्लान्टले पूर्वनिर्धारित क्षमताअनुरूपमा क्लिङ्कर उत्पादन गर्न नसक्ने भएपछि उद्योग व्यवस्थापनले नयाँ प्रविधि भित्र्याएर अगाडी बढेको हो ।
तीन दशकअघिदेखि सञ्चालनमा रहेका कतिपय मेसिन र प्रविधिका कारण सिमेन्ट उत्पादनमा ह्रास आउन थालेपछि मर्मतसम्भार तथा अपग्रेडिङ अभियानअन्तर्गत नयाँ योजना ल्याउन लागिएको उदयपुर सिमेन्ट उद्योगले जनाएको छ ।
उद्योगले प्लान्टमा जडान गरिएको रोटरी किलको सेलमा आएको खराबीलाई परिवर्तन गर्ने र रिइन्फोर्समेन्ट सस्पेन्सन प्री हिटर सिस्टम जडान गर्न लागेको हो । त्यसका लागि उद्योगले फागुन १५ गतेभित्र सम्पन्न गर्नेगरी रोटरी किल मिलको २० मिटर सेल फेर्न छ करोड आठ लाखमा टेन्डर प्रक्रियाद्वारा सम्झौता गरिसकेको बताइएको छ ।
त्यसैगरी रिइन्फोर्समेन्ट सस्पेन्सन प्री–हिटर सिस्टमका लागि भने नयाँ मेसिन जडान गर्न लागेको हो । यसबाट हाल भइरहेको करिब ३० प्रतिशतको क्यालिसनेसनलाई बढाएर ९० प्रतिशतसम्म पुर्याउन सकिने बताइएको छ ।
उहाँका अनुसार यसबाट हालको ८०० मेट्रिक टन उत्पादन क्षमतामा दैनिक ३०० मेट्रिक टन वृद्वि भई दैनिक एक हजार १०० मेट्रिक टन सिमेन्ट उत्पादन हुनेछ ।