काठमाण्डौ। कालीकोट जिल्लाको पचालझरना गाउँपालिका–३ खार्दुमा रहेको पचालझरना जानका लागि तीन करोड ३१ लाखको लागतमा पदमार्ग बनाइने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा उक्त पदमार्ग निर्माण हुन लागेको हो।
गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालका अनुसार नेपालकै ३८१ मिटर अग्लो उक्त झरनासम्म जानका लागि पदमार्ग निर्माण गर्न लागिएको हो। उक्त पदमार्गको शिलान्यास यही कात्तिक ३० गते गरिने कार्यक्रम रहेको छ। पदमार्ग निर्माण भए पर्यटकलाई झरनाको अवलोकन गर्न सजिलो हुने उनले बताए।
गाउँपालिकाका प्राविधिक कुलप्रसाद न्यौपानेका अनुसार विसं २०७४ मा उक्त गाउँपालिकाले दुई दिन लगाएर पचालझरनाको उचाइ मापन गर्दा ३८१ मिटर रहेको थीयो। यो झरना नेपालकै सबैभन्दा अग्लो भएको गाउँपालिका अध्यक्ष सेजुवालले बताए। पचालझरनाको वास्तविक उचाइ ३८१ मिटर रहेको र यसभन्दा अघि नेपालकै अग्लो झरना मानिएको तेह्रथुमको ह्यातुङ झरनाको उचाइ ३६५ मिटर मात्र रहेको उहाँको जिकिर थियो।