काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय आवश्यक परिपूर्ति हुने गरी जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।
सभामुख सापकोटाले जनगणना मुलुकको सुशासन, समृद्धि र विकास निर्माणका लागि धेरै महत्वपूर्ण विषय भएको उल्लेख गरेका छन्। त्यस्तै केन्द्रीय तथ्यांक विभागका पदाधिकारीसँग शनिबार आफ्नो र परिवारको विवरण संकलन गराउँदै उनले सही तथ्यांक संकलनका लागि उच्च सतर्कताका साथ काम गर्न सबै गणकहरुलाई अनुरोध पनि गरेका छन्।
जनगणना राष्ट्रको यति जनसंख्या छ भनेर निकाल्ने मात्रै नभएर सुशासनको लागि, समृद्धिका लागि, विकास निर्माणको लागि, हरेक कुराहरुका लागि धेरै महत्वपूर्ण रहेको उनको भनाई छ। त्यसैले उनले सबैले संकल्पका साथ जनगणनालाई सफलतापूर्वक हाम्रो राष्ट्रको आवश्यकता परिपूर्ति गर्ने गरी सफल पार्नका लागि लाग्न अनुरोध गर्दै यसमा आफुले पनि आफ्नो तर्फबाट सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रपति विद्या देवि भण्डारीले गत कात्तिक २५ गतेदेखि सुरु गरेको राष्ट्रिय जनगणना २०७८ मंसिर ९ गते सम्पन्न हुनेछ। मेरो गणनाः मेरो सहभागिता भन्ने मूल नाराका साथ सुरु भएको जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५०० सुपरिवेक्षक परिचालन गरिएको छ।