काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले नै बनाउने भएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने निर्णय गरेको छ । रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सामग्री लगायतको १७ करोड बढी रकम भुक्तानी गर्न बाँकी छ ।
यो रकम कसले तिर्ने भन्ने विवादका कारण रंगशाला निर्माणको जिम्मा कसले लिने रु भन्ने अन्यौलता भइरहेको थियो । मन्त्रिपरिषदको निर्णयपछि अब भरतपुर महानगरले हिसाब फरफारक गर्नेछ ।
रंगशाला निर्माणको काम भने युवा तथा खेलकुद मन्त्रालयमार्फत अघि बढाउने निर्णय भएको एक मन्त्रीले बताए । ‘निर्माण सम्पन्न भएपछि महानगरलाई हस्तान्तरण हुन्छ’ उनले भने ।