काठमाडौं। लुम्बिनी प्रदेश सरकारले चार वटा निर्माण कम्पनीसँग ठेक्का तोडेर कालोसूचीमा राखेको छ। सिद्धार्थनगर नगरपालिकाको सिफारिसमा कम्पनीलाई कालोसूचीका राखेको हो।
कार्यालयले आज (आईतबार) सूचना प्रकाशित गरि चार वटा निर्माणलाई कालोसूचिमा राखेको हो। जसमा सामुदायिक कृषि बजारको पूर्वाधारको काम नगर्ने विकास ब्रदर, आत्रेया, बस्नेत जेभी र दुई विद्यालयको भवन निर्माणको काम अलपत्र पार्ने रुपन्देही बिल्डर्स एण्ड कन्स्ट्रक्सन रहेका छन्।
नगरपालिकाका अनुसार ठेक्काहरुको निर्माण कार्यको सम्बन्धमा निर्माण व्यवसायीबाट विभिन्न समयमा पेस गरेको संशोधन कार्यतालिका तथा समयमै निर्माण कार्य सम्पन्न गर्ने सम्झौता बमोजिमको प्रतिबद्धताअनुसार काम नगरेको हो।
निर्माण व्यवसायीलाई सम्झौता अवधिभित्र काम पुरा गर्न पटक–पटक ताकेता गराउदासमेत लामो समयदेखि निर्माण कार्य नगरेको कारण ठेक्का तोडी कालोसूचीमा राखिएको सूचनामा उल्लेख गरिएको छ।
साथै, कार्य सम्पादन जमानत।धरौटी वापतको रकम जफत गर्नुको साथै प्राविधिक मूल्यांकन गरी बाँकी काम गर्न लाग्ने खर्च समेत सरकारी बाँकी सरह असुलउपर गर्ने तर्फ कारवाही अगाडि बढाइने कार्यालयले जनाएको छ।
ठेक्का तोड्न नपर्ने कुनै मानवीय कारण भएमा सोको स्पष्ट लिखित प्रमाणसहित कार्यालयमा उपस्थित हुन पनि नगरपालिकाले निर्देशन दिएको छ।
