काठमाडौं। मुस्ताङको थासाङ गाउँपालिका–२ मा आइतबार गएको हिउँ पहिरोमा एक सय ५० चौँरी बेपत्ता भएका छन्। जंगलमा चराउन लगिएका १५० याक र चौँरी हिमपहिरोमा परेर बेपत्ता भएका किसानहरुले बताएका छन्। कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन्।
हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडाध्यक्ष नरप्रसाद हीराचनले जानकारी दिएका छन्। भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फर्किएका छन्। हिमपहिरो गएको क्षेत्रमा भएका गोठाला भने सुरक्षितरुपमा सम्पर्कमा आएका छन्। १३० याक चौँरीमध्ये बाइनाकुलरले हेर्दा १०/१२ वटा मात्र देखिएको र बेपत्ता चौरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारीले जनाएका छन्।
भीषण हिमपहिरोले जङ्गलमा रुखहरु ढलाएको छ। वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ। हिमपहिरोपछि बोस्की खोलामा पानीको सतह बढेको थियो। बेनी–जोमसोम सडकमा केही समय यातायातमसते आवतजावत बन्द भएको थियो। नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ। घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुर्याएको छ। उवा र फापरबालीमा पनि क्षति पुगेको छ।
सांसद प्रेमप्रसाद तुलाचन, प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, महेन्द्र थकाली, प्रजिअ शर्मालगायत सुरक्षा अधिकारीको टोलीले हिम पहिरो गएको ठाउँमा स्थलगत निरिक्षण गरेका छन्। क्षतिको विवरण सङ्कलन भइरहेको कोवाङ प्रहरी चौकीका प्रमुख नेत्र जिटीले जानकारी गराएका छन्। हिम पहिरोपछि धुलो र धुँवाको मुस्लो आएपछि स्थानीयको भागाभाग भएको थियो।
हिम पहिरो नाउरिकोट गाउँ, बोक्सी खोला नजिक बेनी–जोमसोम सडकसम्म आउँदा त्रसित भएर भागाभाग भएको जनआदर्श अमरसिङ माध्यमिक विद्यालयका प्रअ खेम गुरुङले जानकारी गराएका छन्। हिउँदयाममा हिउँ जम्नुपर्नेमा बेमौसममा हिमपहिरो गएको मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तुलाचनले जानकारी गराएका छन भने तापक्रम वृद्धि र जलवायु परिवर्तनको असरले बेमौसममा हिमपहिरो गएको विज्ञहरुले अनुमान गरेका छन्।