काठमाडौं। सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेका विकास योजनामा ध्यान नदिँदा विकास प्रक्रिया निकै सुस्त देखिएको छ। राष्ट्रिय प्राथमिकता आयोजनाका रूपमा रहेको नागढुंगा नौबिसे सुरुङमार्गको काममा सरकारले उदासीनता देखाउँदा सो आयोजना ठप्प जस्तै बनेको छ। त्यस्तै देशका विभिन्न स्थानमा रहेका प्राथमिकता प्राप्त विकास आयोजनाको गति पनि शून्य अवस्थामा पुगेको छ। यसले वर्तमान गठबन्धन सरकार मुलुकको विकास र समृद्धिप्रति संवेदनशील नभएको प्रस्ट देख्न सकिन्छ जुन निकै दुर्भाग्यपूर्ण हो। अघिल्ला सरकारले सुरु गरेका विकास आयोजना र कार्यक्रमलाई वर्तमान सरकारले पूर्वाग्रहको आधारमा रोक्ने जस्तो मूर्खतापूर्ण कार्य गरेको छ जसले सरकार आफैं अलोकप्रिय हुने निश्चित रहेको छ।
वर्तमान सरकारले सुशासन र विकासमा खासै ध्यान पुर्याउन नसकेपछि आमजनतामा सरकारप्रतिको विश्वास र भरोषामा निकै कमी हुँदै जान थालेको छ। सरकारले जनताको हितलाई सर्वोपरि मानी पारदर्शी, स्वच्छ, सक्षम, प्रभावकारी, उत्तरदायी, निष्पक्ष र विधिसम्मत शासन सञ्चालन गर्न सकेको छैन। प्रधानमन्त्री र मन्त्रीहरूमा कसरी देश र जनताको हित गर्नेभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्ने भन्ने प्रवृत्ति हावी हुँदै जान थालेको छ। राज्यको ढुकटीबाट खर्च गर्दा यसबाट कसरी किफायती गर्न सकिन्छ कसरी थोरै खर्च गरेर धेरै उपलब्धि हासिल गर्न सकिन्छ भन्ने सोच राख्नेहरू निकै कम छन्। खर्च गर्ने पदाधिकारीमा त्यस्तो सोच आउन नसके समस्या सिर्जना हुन सक्छ। त्यसैगरी विकास आयोजना सञ्चालन गर्दा नातागोता र सोर्सफोर्सको आधारमा होइन कि आवश्यकता र औचित्यताको आधारमा सञ्चालन जरुरी हुन्छ तर त्यो नीति हाम्रो देशमा देखिदैन्।
आपmुले बनाएको नीति योजना र कार्यक्रमको परिधिभित्र रहेर काम गरिसकेपछि कुनै समस्या हुँदैन। तर नीति योजना र कार्यक्रम बनाउँदा बनाउने बेलामा एकथरी त्यसपछि कार्यान्वयन गर्ने बेलामाअर्कै हुने भएपछि त्यसबाट आउने डेभियसन नै अनियमितता हो। यस्ता अनियमितताका घटनाले मुलुकको विकास र समृद्धिलाई वर्षौंसम्म पछाडि धकेलिरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि विकास आयोजनामा हुने अनियमितताका घटनामा गम्भीर छानबिन गरी दोषीउपर कडा कारबाही गर्नुपर्ने अवस्था सिर्जना भएको छ। त्यस्तै काम गर्नुभन्दा अघि योजना बनाउँदा व्यावहारिक हिसाबले फिल्डमा नै लागू हुने खालको, कार्यान्वयन योग्य र स्रोतअनुसारको योजना बनाएर लागू गरिएमा विकास निर्माणका कार्यले गति लिने छन्।