काठमाडौं। सम्झौताअनुसार दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने धनगढी–मोहना पुल–अत्तरिया ६ लेन सडक साढे चार वर्षमा पनि सकिएको छैन। सडक कालोपत्रे भए पनि फुटपाथ र सर्भिस लेन नबन्दा यात्रु मर्कामा परेका छन्।
रेलिङ लगाउने, रंगरोगन गर्ने, ट्राफिक संकेतहरू राख्ने लगाएतका काम अझै पूरा भएका छैनन् । सडक निर्माणको काम करिब १० प्रतिशत बाँकी रहेको धनगढी मोहना पुल–अत्तरिया सडक आयोजना कार्यालयले जनाएको छ। सडक कालोपत्रे भएपछि अन्य कामले गति लिन सकेको छैन। केही समययता त निर्माण कार्य ठप्प नै भएको । १४.२ किलोमिटर यो सडकलाई तीन खण्डमा छुट्याएर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ०७४ जेठमा ठेक्का लगाइएको थियो।
ब्लकसहितको फुटपाथ बनाउने र सर्भिस लेन ग्राभेल गर्नेलगायतका काम बाँकी रहेको आयोजना कार्यालयका सबइन्जिनियर एवं सूचना अधिकारी भुवन खड्काले जानकारी दिए। डेढ मिटर फुटपाथ र तीनदेखि साढे चार मिटरसम्म सर्भिस लेन रहने उनले बताए। पहिलो खण्डमा फुटपाथमा ब्लक राख्ने काम भइरहेको छ। दसैँ–तिहारका वेला कामदारको अभावमा दुई खण्डमा अहिले काम रोकिएको उनले बताए।