काठमाडौं। कालिकोट जिल्लाको पँलाता गाउँपालिकाले गाउँपालिकाका मातहतका कर्मचारीलाई श्रमदानमा लगाएको छ। पालिकाको विकासमा कर्मचारीको भूमिका महत्वपूर्ण हुने भन्दै अस्थायी तथा स्थायी कर्मचारीलाई कार्यालयको समयबाहेक अन्य समयमा आ–आफ्नो कार्यक्षेत्रमा विकासका काममा सहयोग गर्न आग्रह गरिएपछि कर्मचारी पनि श्रमदानमा जुटेका हुन्।
सो गाउँपालिकाको निर्माण र समृद्धिको अभियान आफैंबाट सुरुआत गर्ने उद्देश्यसहित प्रत्येक कर्मचारीलाई गाउँपालिकाको विकासमा श्रमदान गर्नका लागि अभियान सञ्चालन गरिएकोे गाउँपालिकाका अध्यक्षले जानकारी गराएका छन्। गाउँपालिका, संघीय तथा प्रदेश सरकारबाट निर्माण हुने योजना र स्थानीय सार्वजनिक सरोकारका कामका लागि कर्मचारीलाई अतिरिक्त समयमा अनिवार्य विकास निमार्णमा जुट्न लगाइएको हो। राज्यको लगानीले मात्र गाउँ र समाजको उन्नति तथा समृद्धिको सपना पूरा नहुने भएकाले यस्तो कार्यक्रम गर्न लागिएको अध्यक्षको भनाइ छ।
सरकारी लगानी र अनुदानमा बनिरहेका विकास निर्माणका संरचनामा मात्र नभई, गाउँ सरसफाइ, विद्यालय अनुगमन, वन सुरक्षा, पानीका मुहान सफाइ, विद्युत नहर मर्मत, भवनका पर्खाल निर्माण, सिँचाइ कुलो निर्माणकार्यमा अनिवार्य कर्मचारीले श्रमदान गर्ने नीति बनाइएको अध्यक्षले जानकारी दिएका छन्। देशको विकास कर्मचारी, नागरिक र जनप्रतिनिधि मिलेर गर्ने बताउँदै पालिकाको विकासका लागि शनिबार श्रमदान गर्ने नीति लिएका उनले जानकारी दिएका छन्। समाजमा विकासप्रति अपनत्व गराउन र विकास मेरा लागि पनि हो, मैले पनि केही गर्नुपर्छ भन्ने धारणा बनाउनका लागि अनिवार्य श्रमदान गर्ने योजना ल्याइएको उनले जनाए।