काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गको सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ वटा निर्माण कम्पनीलाई कालोसूचिमा राखेको छ। सन्तोषजनक काम नभएका १५ निर्माण कम्पनी कालो सूचीमा राखिएको हो।
कार्यालयले आज सूचना प्रकाशित गर्दै समयमा काम नगर्ने १५ वटा निर्माण कम्पनीलाई कालोसूचिमा राखिएको उल्ल्ेख गरेको छ। शैलेन्द्र कुमार कुरुम्बाङ नेतृत्वको एस.एएस कन्स्ट्रक्सन प्रालि विराटनगरलाई ३ वर्षसम्म कालोसूचीमा राखिएको छ । यो कम्पनीलाई कालोसूचीमा राख्न हिलिहाङ गाउँपालिका पाँचथरले सिफारिस गरेको थियो ।
यसैगरी दीपक सापकोटा मुख्य व्यक्त रहेको शंकरमाली निर्माण सेवा प्रालि, गोकर्ण प्रसाद पण्डित मुख्य व्यक्ति रहेको नागार्जुन कन्स्ट्रक्सन प्रालि, राजुप्रसाद श्रेष्ठ नेतृत्वको वाईपी कन्स्ट्रक्सन प्रालि र रविन कुमार जोशी नेतृत्वको रफिना कन्स्ट्रक्सन प्रालिलाई एक वर्ष तीन महिना कालो सूचीमा राखिएको छ ।
अन्य कम्पनीहरु भने एक वर्ष कालोसूचीमा परेका छन् । कालो सूचीमा परेको अवधिभर ती कम्पनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख गरिएको छ।
