काठमाडौं। पोखरा महानगरपालिका वडा नं.१८ अधेँरीखोला बेशीमार्ग स्थित फिर्के खोलामा निर्माण गरिएको पर्खाल नगर प्रहरीले हटाएको छ । फिर्के खोलाको मापदण्ड विपरीत निर्माण गरिएको पर्खाल मङ्गलवार नगर प्रहरीले हटाएको हो ।
फिर्के खोलाको मापदण्ड विपरीत भवानी पराजुली र रमेश अर्यालले निर्माण गरेको करिब १५० मिटर लामो रिटेनिर वाल नगर प्रहरीले भत्काएको हो । खोलाको मापदण्ड विपरीत भइरहेको कार्य रोक्नका लागि बारम्बार आग्रह गर्दा समेत अटेर गरी विना अनुमति निर्माण गरेको पाइएपछि भत्काउन परेको नगर प्रहरीले जनाएको छ।
मापदण्ड विपरीत निर्माण भइरहेको सूचना पाए लगत्तै अनुगमनमा पुगेको नगर प्रहरीले निर्माणमा संलग्न व्यवसायी र जग्गाधनीलाई तत्काल निर्माण कार्य रोक्न अनुरोध गरेको थियो । तर, पटक पटकको आग्रहलाई अटेर गरेपछि डोजर नै प्रयोग गरि भत्काइएको बताइएको छ।
फिर्के खोलाको मापदण्ड विपरीत निर्माण गरिएका सबै संरचनाहरू महानगरपालिकाले क्रमशः हटाउँदै जाने तयारी गरेको छ ।
फिर्के खोलाको संरक्षण र सौन्दर्यीकरणका लागि पुनरावलोकन प्रतिवेदन सार्वजनिक भएपछि नयाँ ढङ्गले अगाडी बढ्ने योजनामा महानगरपालिका रहेको छ ।