बागलुङ। बागलुङको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद उद्यान (पार्क) निर्माण गर्न सुरु गरेको छ । गाउँपालिकाले तत्कालीन सशस्त्र द्वन्द्वका समयमा निधन भएकाहरूको सम्मानका लागि सहिद उद्यान निर्माण गर्न सुरु गरेको हो ।
सहिद स्मृति उद्यान संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा अहिले उद्यान निर्माण थालिएको छ । अझै केही जग्गा व्यवस्थापन गरी पाँच रोपनी क्षेत्रफलमा उद्यान निर्माण हुने भएको हो ।
उद्यानमा सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाएका भरत शेरचन, नगेन्द्र थापा, भद्रकली थापा, धनबहादु थापा, हर्कबहादुर थापा र चाँदनी थापाको सालिक राखिने छ । बागलुङबजार नजिकै रहेको उक्त ठाउँ पर्यटकीय हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ ।
उक्त सहिद उद्यानले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको स्थानीयले बताए। गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २० लाखले जग्गा सम्याउने र पदमार्ग निर्माणको काम भइरहेको काठेखोला गाउँपालिकाले जनाएको छ।
उद्यान राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग नजिकै निर्माण भइरहेको हुँदा यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने विश्वास गरिएको छ।