गोरखा। गोरखाको सहिद लखन गाउँपालिका–९ नाम्जुङमा लामो समयदेखि खानेपानी आयोजना अलपत्र परिरहेको छ। दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने खानेपानी आयोजना अझैसम्म पनि अलपत्र परेको हो।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले करिब रु साढे दुई करोडमा ठेक्का लगाएको खानेपानी आयोजना विसं २०७८ असारमा नै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म निर्माण सम्पन्न हुनसकेको छैन। निर्माण कम्पनी मृत सञ्जिवनी नाना जेभीले जिम्मा लिएको आयोजनामा पहिलोपटक तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि कार्यालयले दुई पटकसम्म म्याद थप गरिसकेको छ।
अहिलेसम्म आयोजनाको भौतिक प्रगति करिब ५० प्रतिशतमात्र भएको कार्यालयले जनाएको छ। लिफ्टिङ प्रविधिबाट निर्माण गर्न लागिएको यो आयोजना तीन किलोमिटर टाढा रहेको ढिकुरे रहबाट पानी तानेर वितरण गर्ने गरी सुरु गरिएको थियो। रिजर्भ ट्याङ्कीसहित चारवटा ट्याङकी निर्माण गर्ने गरी आयोजनाको लागत अनुमान छ। टयाङ्की निर्माणको काम भने अहिले उपभोक्ता समितिमार्फत पहिले नै बनेकाले पछिल्लो बजेटबाट पाइप खरिद, ट्रिटमेन्ट प्लान्ट निर्माणलगायतका काम गर्ने गरी सम्झौता भएको थियो।
निर्माण कम्पनीले हालसम्म पाइप खरिद, ट्रिटमेन्ट प्लान्ट निर्माणको काममात्र सम्पन्न गरेको छ।