गोरखा। शहीद लखन गाउँपालिकामा चेपाङ सङ्ग्रहालय निर्माण गरिएको छ । चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ सङ्ग्रहालय निर्माण गरिएको हो।
चेपाङ समुदायको बाहुल्यता रहेको वडा नं ४ स्थित डाँडागाउँमा लोप हुन लागको उक्त समुदायको भेशभूषा, तथा कला संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।
आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा वडा कार्यालयले विनियोजन गरेको रु १४ लाख बजेटबाट सङ्ग्रहालय निर्माण गरिएको बताइएको छ। स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गासहितको क्षेत्रमा सङ्ग्रहालय निर्माण गरिएको हो।
सङ्गहालयमा चेपाङ समुदायले परम्परागत रुपमा प्रयोग गर्ने भेशभूषा, भाङ्ग्रा, जङ्गलमा गिट्ठा टिप्न जाँदा प्रयोग गर्ने सामग्री, चमेरो मार्न प्रयोग गर्ने सामग्री लगायतका सबै खालका परम्परागत सामग्री राखिने गाउँपालिकाले जनाएको छ।