नुवाकोट। नुवाकोट र धादिङ सिमानामा पर्ने गल्छी गाउँपालिका–८ निबुवाबोटमा स्थानीयले सडक बन्द गरेका छन्। होटलमा आएका एक युवकको हत्या भएपछि स्थानीयले विरोध स्वरुप सडक बन्द गराएका हुन्।
स्थानीय शानदार होटलमा खाना खाएर पैसा तिर्ने क्रममा विवाद हुँदा सोही होटलका निरज पण्डितले छुरा हानेपछि स्थानीय २३ वर्षीय विनोद मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्यु पछि स्थानीयले बिहानदेखि गल्छी–त्रिशूली सडक खण्ड बन्द गराएका हुन् ।
बुधबार राति ११ बजे शानदार होटलमा खाना खाए विनोद मगरसहित ३ जनाले १५ सय रुपैयाँ तिरेका थिए। यसअघिको पैसा नतिरेको भनेपछि होटल साहुनी सरस्वती पण्डितसँग उनीहरूको विवाद भएको थियो । सरस्वतीले झगडा मिलाउन छोरा निरजलाई बोलाएकी थिइन् । निरजले विनोद मगरलाई दुई पटक चक्कु हानेपछि उनी ढलेका थिए । त्यतिले मात्र नभइ विनोदलाई मोटरसाइकलले शरीरमा गुडाएको स्थानीयले बताएका छन् । पछि सबै गाउँले मिलेर विनोदको उपचारको लागि काठमाडौं पठाइएको थियो । उनको काठमाडौंमै मृत्यु भएपछि गाउँले आक्रोशित बनेका हुन् । विरोधस्वरुप उनीहरूले आज सडक बन्द गराएका छन् ।
बन्द सडक खुलाउन प्रयास गर्दा प्रहरीले हवाई फायर समते भएको छ । प्रहरीले चक्कु प्रहार गर्ने होटल सञ्चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।