रसुवा। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा यार्ड निर्माण प्रक्रिया सुरु भएको छ।यार्डको अभावमा लामो समयदेखि आयातमा समस्या आएपछि निर्माण प्रक्रिया सुरु गरिएको हो। हाल रसुवागढी नाकाबाट चार किलोमिटर वर टिमुरेमा अस्थायी यार्ड सञ्चालनमा रहेको छ। त्यस्तै टिमुरेमा नै ड्राइपोर्ट पनि निर्माण भइरहेको छ। तर नाकामा हालसम्म यार्ड सञ्चालनमा ल्याइएको छैन। रसुवाका प्रमुख जिल्ला अधिकारीका अनुसार आजदेखि प्राविधिकले स्टिमेटको काम सुरु गर्ने भएका छन्।
रसुवागढी नाकामा कम्तिमा पनि २० वटा कन्टेनर अट्ने यार्ड निर्माण हुने भएको छ। स्टिमेट निर्माण भएपछि आवश्यक बजेटका लागि प्रक्रिया अघि बढाउने जिल्ला अधिकारीले बताएका छन। आजदेखि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका प्राविधिकले स्टिमेट गर्ने भएका छन्। नाकामा यार्ड निर्माण भएमा चिनियाँ पक्षले सामग्रीको आयात बढाउने छन्।
नाकाको नेपालतर्फ पूर्वाधारको विकास नभएकै कारण चिनियाँ पक्षले हाल सामग्रीको आयात बढाएका छैनन्। पूर्वाधारको विकास गर्न सकेको खण्डमा चिनियाँ पक्षले सामग्रीको आयात बढाउने रयसले पछिसम्म फाइदा हुने उनको भनाइ रहेको छ। त्यस्तै पछिल्लो समय चिनियाँ पक्षले दैनिक ९ वटा चिनियाँ गाडीमा सामग्री आयात गरिरहेका छन्। २०७६ माघ १५ गतेदेखि २०७७ जेठ तेस्रो सातासम्म नाका बन्द गरिएको कारण २०७६ माघयता नाकाबाट आयात निकै कम भएको छ। पछि एकतर्फी रूपमा नाका सञ्चालनमा आएको भएपनि पछिल्ला दिनमा नाकामा कारोबार निकै घटेको छ।
हाल चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। तर कोरोनाका कारण निर्यात लामो समयदेखि ठप्प रहेको छ।२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। सो नाकालाई चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। यस रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।