काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणसम्बन्धी ठूला योजनालाई बिनारोकावट सञ्चालनको व्यवस्था गर्न सरकार सकारात्मक रहेको जनाएका छन्।बुधबार मन्त्रालयमा भएको विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफलमा मन्त्री शर्माले यस्तो बताएका हुन्।
झण्झटिलो कानुन र विभिन्न प्रकारका रोकावटले ठूला आयोजना प्रभावित हुँदै आएकाले अब त्यस्तो व्यवस्था हटाउनुपर्ने उनको धारणा रहेको छ। अख्तियार, कानुन तथा अदालतलगायतका कानुनी प्रावधनले ठूला आयोजना रोकिनु हुँदैन भन्ने सरकार चाहन्छ, त्यसैले ठूला योजना बिनारोकावट सञ्चालन हुने नीति सरकारले बनाउनुपर्ने मन्त्री शर्माको भनाइ रहेको छ।
त्यस्तै कानुन निर्माताहरूले ठोस अध्ययन नगरीकनै कानुन पास गरिदिँदा केही समस्या निम्तिएको उल्लेख गर्दै अब सूक्ष्म अध्ययन गरेर कानून निर्माण गर्न मन्त्री शर्माले मातहत निकायका कनुनसम्वद्ध कर्मचारीलाई निर्देशन दिएका छन्। विकास निर्माणसम्बन्धी नीति बनाउँदा अन्तर निकाय समन्वय र एकरुपता आवश्यक रहे पनि हालको अवस्थामा त्यस्तो हुन नसकिरहेको मन्त्री शर्माको भनाइ छ। नीति, निर्माताका यस्तै हरेक टेबल–टेबलमा आफ्नै किसिमको मनमौजीले विकास निर्माणका कार्यहरू रोकिने गरेका हुनाले अब त्यस्तो मानसिकता त्याग्नुपर्ने मन्त्री शर्माले बताएका छन्।