एजेन्सी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यकालमा जनताका लागि चार करोड घर र ११ करोड शौचालय निर्माण गरेको दाबी गरेका छन्। आइतबार नयाँ संसद भवनको उद्घाटनको क्रममा बोल्दै प्रधानमन्त्री मोदीले आफ्नो कार्यकालमा जनताका लागि चार करोड घर र ११ करोड शौचालय निर्माण गरेको उल्लेख गरेका हुन्।
त्यसैगरी उनले ४ लाख किलोमिटर ग्रामीण सडक निर्माण, ५० हजार अमृत सरोवर निर्माण र ३० हजार नयाँ पञ्चायत भवन निर्माण गरेको बताएका छन्।
आइतबार झण्डै १०० वर्ष पुरानो औपनिवेशिक कालको भवनको छेउमा निर्माण गरिएको नयाँ संसद् भवनको प्रधानमन्त्री मोदीले उद्घाटन गरे।
उद्घाटनका क्रममा उनले भने, “यो भवन आधुनिक सुविधाले सुसज्जित र अत्याधुनिक उपकरणले सुसज्जित छ। यसले साठी हजारभन्दा बढी कामदारलाई रोजगारी दिएको छ । हामीले उनीहरूको कठोर परिश्रमको सम्मान गर्दै ‘डिजिटल ग्यालरी’ बनाएका छौँ।”
करिब साढे दुई वर्ष लगाएर निर्माण भएको नयाँ भवन अघिल्लो भवनभन्दा धेरै फराकिलो छ । यस्तै सांसदहरुको सिट क्षमता पनि बढाइएको छ । नयाँ संसद् भवन औपनिवेशिक मानसिकताको अन्त्यको प्रतीक भएको प्रधानमन्त्री मोदीले बताए ।