काठमाडौं। इलाम बजारमा इलाम बजार खानेपानी आयोजना सम्पन्न भएको छ। बजारमा सञ्चालित ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’ को काम सम्पन्न भएको हो।
केही समय अघिदेखि नै परीक्षणको रूपमा खानेपानी वितरण हुँदै आएको आयोजनाको काम हाल सम्पन्न भएको छ। नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौता भएर चार वर्ष अघि काम सुरु भएको थियो । निर्माण सम्पन्न भएपछि सो आयोजनाको शनिबार अनुगमनसमेत गरिएको छ ।
आयोजनाको काम ‘रमण कन्स्ट्रक्सन कम्पनी’ ले ५७ करोड ९५ लाखमा ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको थियो। एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा खानेपानी आयोजना सञ्चालन भएको हो ।
जुन आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो ।आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड करिब ४३ लिटर पानी आइरहेको छ ।
आयोजनाअन्तर्गत सुरुमा २८ सय ७७ घरमा पानी वितरण गर्ने लक्ष लिइएको थियो । पछि थप भएर ३३ सय ४४ घरमा आयोजनामार्फत् नै खानेपानी वितरण भएको छ । पुनः तीन सय बढी उपभोक्ताको संख्या बढेकाले सो काम हाल भइरहेको बताइएको छ।