काठमाडौं। डीटीएच सेवा प्रदायक डिशहोमले आफ्नै डेटा सेन्टर निर्माण गर्ने भएको छ। मंगलबार आयोजित ह्वावे कनेक्ट २०२१ मार्फत डिशहोमले पहिलो चरणमा २५ करोड रुपैयाँको लगानीमा डेटा सेन्टर निर्माण गर्न लागेको घोषणा गरेको हो।
विभिन्न चरणमा परियोजना अघि बढाउने उद्देश्यका साथ कम्पनीले यसलाई अघि बढाएको छ। जसमा पहिलो चरणमा २५ करोड लगानी गरिने कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताएका छन्। उक्त परियोजना ४ चरणमा अघि बढ्ने भएको छ, आचार्यले भने, पहिलो चरणमा ४८ र्याकको डेटा सेन्टर निर्माण गरिने छ। भने विस्तारै त्यसलाई विस्तार गर्दै थप लगानी गर्दै जाने योजना रहेको छ।
यस्तै आगामी ६ महिनाभित्र डेटा सेन्टर सञ्चालनमा ल्याउने गरी यसको प्रक्रिया अघि बढाइएको जनाइएको छ। त्यसका लागि कम्पनीले चिनियाँ प्रविधि कम्पनी ह्वावेसँग सहकार्य गर्ने भएको हो। हामीले ह्वावेको मोडुलर तथा प्रविधि प्रयोगमा ल्याउन गरि सहकार्य गरेका छौं, काठमाडौंमा निर्माण हुने यो डेटा सेन्टर अन्तराष्ट्रिय स्तरको हुने डिशहोमका जनरल म्यानेजर मनोज केसीले बताए।
नेपालमा डेटा एनालिसिस, डेटाको महत्व र सुरक्षणमा चासो बढी रहेको परिप्रेक्षलाई मध्यनजर गर्दै कम्पनीले यसको सुरुवात गर्ने तयारी गरेको हो। यसका साथै नेपाल इन्टरनेट ट्राफिकमा पनि डिजिटल सेवाहरूको उपयोगमा उल्लेखनीय वृद्धि भइरहेको छ। यसलाई पनि अवसरको रुपमा बदल्ने योजनाका साथ कम्पनीले डेटा सेन्टरमा लगानी गर्ने गरेको केसीले बताए।