सिन्धुपाल्चोक। अब काठमाडौंमा मेलम्चीको पानी नियमित आउने भएको छ। मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेपछि नियमित रुपमा मेलम्चीको पानी काठमाडौं आउने भएको हो।
मेलम्ची खानपानी विकास समितिका अनुसार मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र धमिलो पानी हुँदा पनि काठमाडौँ उपत्यकामा पानी नियमित ल्याउनका लागि मर्मत गरिएको हो।
प्रणालीअन्तर्गत गेट नम्बर १ ले पानी सुरुङको भित्र पठाउने, गेट नम्बर ९ फल्स गर्ने समितिले बताएको छ। गेट नम्बर ९ ले गर्दा धमिलो पानी सुरुङभित्र पस्न पाउँदैन।
गत मङ्गलबारदेखि उपत्यकामा पानी पुनः ल्याउन थालिएको थियो । गेटको मर्मतका लागि बन्द गरिएको र एकै पटक धेरै परिमाणमा पठाउन नहुने भएकाले विस्तारै बढाउँदै लगिएको बताइएको छ।
वर्षाको समयमा बाढी आउन सक्ने र यसले गर्दा सुरुङभित्र बाढी पस्ने जोखिम भएकाले गत वर्षहरुमा वर्षामा सुरुङ बन्द गरिएको थियो। यो वर्ष गेटको मर्मत गरेर सम्भव भएसम्म वर्षामा पनि पानी चलाउने समितिको योजना रहेको बताइएको छ।