काठमाडौं। ठेकेदारकै मिलेमतोमा टेन्डर आह्वान भएको पाइएपछि पर्यटनमन्त्री प्रेमबहादुर आलेले १५ करोड रुपैयाँको ठेक्काको टेन्डर सूचना (बोलपत्र) रद्ध गराएका छन्। पर्यटक हिँड्ने पदमार्ग निमार्णका लागि आह्वान गरिएको सो टेन्डर मन्त्री आलेले सोमबार ठाडो आदेशमा बन्द गराएका हुन्।
पर्यटन विभागले बढीमालिका, मनास्लु र धौलागिरि क्षेत्रमा पर्ने ग्रेट हिमालयन ट्रेलअन्तर्गत रहेका पदमार्ग निर्माणका लागि कात्तिक ११ गते सूचना निकालेको थियो। एक दैनिक पत्रिकामा ५–५ करोडका दरले १५ करोड रुपैयाँ बराबरको टेन्डर आह्वान गरिएको थियो।
केही निर्माण व्यवसायीको मात्रै योग्यता पुर्यार्उने गरी सूचना निकालेको भन्दै उजुरी परेको थियो। उक्त सूचनाले सबै समूहका निर्माण व्यवसायीलाई प्रतिस्पर्धा गर्ने बाटो रोकेको उजुरीकर्ताको आरोप छ।बोलपत्रमा कुनै निश्चित कम्पनीको योग्यता मात्रै मिल्ने गरी पदमार्गमा ३ करोड ६० लाख रुपैयाँको ठेक्का लिएको, १ हजार १ सय ८ घनमिटर ढुंगा छिनालेर काटेको जस्ता सर्त राखिएका थिए।
मन्त्री आलेले पर्यटन सचिव यादव कोइराला, पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी र टेन्डर डकुमेन्ट निकाल्ने विभागका इन्जिनियर सचिन्द्र यावदलाई बोलाई सूचनामा त्रुटि रहेकाले रद्द गर्न निर्देशन दिएका हुन्।