भक्तपुर। मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले बालबालिकालाई आवश्यक पर्ने इन्टेन्सिभ केयर युनिट (आइसीयू) सञ्चालनमा ल्याएको छ।
५ शय्यामा आइसीयू कक्ष सञ्चालनमा ल्याएको मध्यपुरथिमि नगरपालिकाका प्रमुखले जानकारी दिएका छन्। उनले सो कक्षको शुभारम्भ गर्दै मध्यपुरथिमिका बासिन्दालाई मात्रै नभई देशभरका बिरामीका लागि अस्पतालले सुलभ र सहज उपचार सेवा दिँदै आएको जानकारी गराएका छन्। सो अस्पताल टेकु अस्पतालपछि पिसीआर परीक्षण गर्ने देशकै दोस्रो अस्पताल बन्न सफल भएको र हाल अस्पतालले तीन पिसीआर मेसिन सञ्चालनमा ल्याएको जानकारी दिँदै अक्सिजन प्लान्ट स्थापनादेखि आइसीयू र भेन्टिलेटरको विस्तार गर्दै हाल बालबालिकाका लागि भेन्टिलेटरसहित छुट्टै आइसीयू सञ्चालनमा ल्याउन सफल भएको बताएका छन्।
सो अस्पतालले मिर्गौला पीडित बिरामीका लागि डायलायसिस मेसिनसमेत सञ्चालनमा ल्याएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगरप्रमुखले हाललाई दुई डायलायसिस मेसिनबाट दैनिक बिरामीको उपचार गरिरहेको जानकारी दिँदै रोटरी क्लबको सहयोगमा थप चार मेसिनबाट सेवा सुरु हुन लागेको जनाएका छन्। सो अस्पतालले अहिले २५ श्ययाको एचडीयू र १७ वर्षमाथि उमेरका बिरामीका लागि भेन्टिलेटरसहितको १० शय्याको आइसीयू सञ्चालन गरिरहेको छ। कूल १०२ शय्यामा सञ्चालित सो अस्पतालले नर्सिङ कलेज सञ्चालनको तयारीसमेत गरेको छ भने अस्पतालमा विभिन्न सेवा विस्तार गर्दै लगेको जानकारी गराएको छ।