झापा। कृषि ज्ञान केन्द्र झापाले मेसिनमार्फत धान रोप्ने तयारी गरिरहेको छ। किसानलाई प्रविधिमा आकर्षित गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र झापाले चार पालिकामा प्रदर्शनीका रुपमा मेसिनले धान रोपाइँ गर्न लागेको हो।
केन्द्रका प्रमुख सागर विष्टका अनुसार स्थानीय कृषि सहकारी संस्थाको सहकार्यमा विर्तामोड, कनकाई र गौरादह नगरपालिका तथा कमल गाउँपालिकाका ५० जना किसानको ८० बिघा जग्गामा मेसिनमार्फत धान रोप्न बीउ राखिसकिएको छ। साथै १५ दिनपछि रोपाइँ सुरु हुने बताइएको छ।
एक बिघामा धान रोप्न १५ जना रोपारलाई एक दिन लाग्छ भने मेसिनले रोपाइँ गर्दा आधा दिनमै रोपाइँ सकिने भएकाले समय र लागत दुवैको वचत हुने भएको छ। १५ जनाको एक दिनको ज्याला मात्र नौ हजार हुन पुग्छ भने मेसिनले एक विघामा धान रोपेको चार हजार मात्र लाग्ने बताइएको छ।