काठमाडौं। नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र हुने स्थान नारायणी नदी किनारमा मञ्च निर्माणको काम धमाधम भइरहेको छ। बाढीले खाल्टाखुल्टी पारेको ठाउँमा माटो भरेर जमिनको सतह मिलाइँदै छ।
महाधिवेशनमा लाखौँ जनता सहभागी हुने भएकाले नारायणगढस्थित नदी किनारको उत्तरपट्टि कुनामा थुप्रिएको ढुंगालाई पनि डोजरको सहायताले समथर बनाउने काम भइरहेको छ। एमालेका अनुसार यस ठाउँमा चार खण्डमा मञ्च निर्माण हुने भएको छ।
चितवनमा १०/१२ मंसिरसम्म हुने महाधिवेशनको उद्घाटन सत्र १० मंसिरमा नारायणी नदी किनारमा हुने भएको हो। प्रमुख अतिथि एमाले अध्यक्ष केपी ओलीसहित स्थायी कमिटीका सदस्य र अतिथि बस्ने मुख्य मञ्च बीच भागमा हुने छ। त्यसको छेउमा भाषण गर्नका लागि छुट्टै खण्डको मञ्च बन्ने छ।
मंसिर ९ साँझसम्म मञ्च निर्माण सम्पन्न भइसक्ने छ। एक पटकमा ७२ जना कलाकार सहभागी हुन मिल्ने गरी कलाकारका लागि मञ्च निर्माण हुने उनले बताए। मञ्च निर्माणमा अहिले ५० जना स्वयंसेवक खटिएका छन्। जमिनको सतह मिलाइ सकेपछि प्राविधिकसहितको स्वयंसेवकको संख्या बढ्ने उनले बताए।
महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनेलाई नारायणी नदीको दुवै किनारमा राखिने भएको छ। चितवनतर्फ पर्ने नदी किनारमा डेढ लाख कार्यकर्ता मात्रै सहभागी हुन सक्ने श्रेष्ठ बताउँछन्। महाधिवेशन स्थल र बजारका मुख्य चोक पुलचोक, लायन्सचोक लगायतका चोकमा गरी २० वटा डिस्प्ले बोर्ड राखिने उनले बताए।
महाधिवेशन उद्घाटन सत्र हुने दिनमा नदी किनारमा सञ्चालित ठेला व्यवसायहरु बन्द हुने भएका छन्। महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि कार्यक्रम स्थलमा हुने फोहोर व्यवस्थापन स्वयम पार्टीले नै गर्ने उनले जानकारी दिए। फोहोर टिप्नका लागि पनि स्वयमसेवक खटाइने भएको छ।