काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले प्रमुख राजमार्गका ३२ ओटा स्थानमा ५० ओटा चार्जिङ स्टेसन बनाउन शुरु गरेको छ। एशियाली विकास बैङ्कको आर्थिक सहयोगमा गत वर्षदेखि चार्जिङ स्टेसन निर्माण गर्न शुरु गरिएको हो।
त्यसैगरी प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गर्न लागेको हो। पूर्वपश्चिम राजमार्गका साथै, पृथ्वी, सिद्धार्थ, बीपी र मदन भण्डारी लगायतका राजमार्गमा चार्जिङ स्टेसन राखिने भएको छ। सो कार्य आगामी ६ महीनामा सम्पन्न गरिने जानकारी गराइएको छ।
विद्युत् प्राधिकरणका अनुसार चार्जर मेसिन खरीदको सम्झौता भइसकेको छ। विद्युतीय स्टेसनबाट कार आधा घण्टा र बस एक घन्टामा पूर्ण रूपमा चार्ज हुनेछ। साथै स्टेसनमा १४२ किलोवाटको डीसी चार्जर राखिनेछ। थ्यस्तै एउटा चार्जिङ स्टेसन निर्माणको लागत करीब ८० लाख रुपैयाँ रहेको छ। प्राधिकरणका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकामा १० ओटा र बाँकी अन्य प्रदेश तथा अन्य आवश्यक स्थानमा स्टेसन निर्माण हुने भएका छन्।
प्राधिकरण स्रोतका अनुसार चार्जिङ स्टेसन सञ्चालनमा आएपछि थप ७ हजार किलोवाट विद्युत् खपत हुने अनुमान गरीएको छ। हाल सञ्चालनमा आएका निजीस्तरका विद्युतीय सवारीले आ–आफ्नै ग्यारेजमा चार्ज गर्दै आएका छन्।
त्यसैगरी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सरकारले विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिने उद्देश्यले विद्युतीय सवारी साधनको आयातमा अन्तःशुल्क पुरै खारेज गरी भन्सार महसुलसमेत घटाएको छ।