पर्वत । पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । अस्पतालमा जडान गरिएको ४० सिलिण्डर क्षमता प्लान्टको सांसद पदम गिरीले उद्घाटन गरेका छन् ।
नेपाल चिकित्सक सङ्घ केन्द्रीय कार्यालयको पहलमा चुजी फाउन्डेशन ताइवानको सहयोगमा प्लान्ट जडान गरिएको हो ।
उद्घाटनका अवसरमा सांसद गिरीले ग्रामीण क्षेत्रका बासिन्दालाई सस्तो मूल्यमा जिल्लामै स्वास्थ्य सेवा दिन सकेमा मात्र आम नागरिकले राज्यको अनुभूति गर्ने बताए । उनले दैनिक ४० सिलिण्डर भर्न सकिने क्षमताको प्लान्ट जडान पछि अब पर्वत जिल्लामा अक्सिजनको अभाव सिर्जना नहुने समेत बताए ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की र महासचिव डा बद्री रिजालसमेतको पहलमा यो प्लान्ट ल्याउन सफल भएको पर्वत अस्पतालका निवर्तमान अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए । यो प्लान्ट जडानसँगै सिलिन्डरमा भर्ने रिफिल मेसिन जोड्ने प्रक्रियासमेत शुरु भएको छ ।