काठमाडौं। प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले अधुरा विकास निर्माणका कामलाई पूर्णता दिने बताएका छन्। स्टार युथ क्लबको स्थापना दिवसको अवसरमा सोलुखुम्बुको सल्लेरीमा आयोजित प्रदेशस्तरीय महिला तथा जिल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै आङ्बोले नेकपा नेतृत्व सरकारका पालामा सम्पन्न नभएका योजना बाँकी कार्यकालमा सम्पन्न गर्ने जानकारी गराएका हुन्।
यसैगरी सोलुखुम्बु प्रचुर सम्भावना बोकेको जिल्ला भए पनि आवश्यक भौतिक संरचना अभावमा पछि परेको उनले जनाएका छन्। साथै आङ्बोले पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा संरचना निर्माणमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। हाई अल्टिच्युट स्पोर्ट्सको माध्यमबाट सोलुखुम्बुमा पर्यटकलाई थप आकर्षित गर्न सकिने उनको भनाइ रहेको छ।
त्यस्तै एमाले प्रदेश १ का प्रमुख सचेतक तथा प्रदेश सांसदले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर खेल र खेलाडीको विकासमा लगानी गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन्।