काठमाडौं। देशमा ११ महिनामा ११ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
विदेशका विभिन्न मुलुकमा रहेका नेपालीले चालु आर्थिक वर्ष २०७९, ०८० को ११ महिना अवधिमा ११ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यास नेपाल पठाएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
स्वदेशमै रोजगारी नहुँदा युवा विदेशिने क्रम बढिरहेको छ । जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने ४ लाख ५९ हजार ४ सय १५ जना पुगेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.६ प्रतिशत बढी हो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ०.५ प्रतिशतले बढेर २ लाख ६० हजार २ सय ६२ जना पुगेको छ ।
रोजगारी र शैक्षिकको लागि युवा विदेश जाने क्रम बढेसँगै मुलुकमा रेमिट्यान्स वृद्धि भएको छ । रोजगारीकै लागि विदेश गएकाहरुले प्राय हरेक महिना पैसा पठाउने गरेका छन् । पढ्नका लागि गएकाहरुले समेत केही समय काम गरेर पैसा पठाउने गरेका छन् ।
राष्ट्र बैंकका अनुसार जेठसम्म आएको रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.७ प्रतिशतले बढी छ । अमेरिकी डलरको रेमिट्यान्स समेत १३ प्रतिशतले वृद्धि भएको छ । अहिले डलरमा ८ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।