काठमाडौं । रोल्स–रोयसले निर्माण गरेको ‘स्पिरिट अफ इनभेशन’ विमानले परीक्षण उडान गरेको छ । परीक्षणमा यो विमान ६२३ किलोमिटर प्रतिघण्टाको गतिमा उडेको रोल्स–रोयस कम्पनीले जनाएको छ ।
परीक्षण उडान पश्चात यो विमान विश्वको सबैभन्दा तीव्र गतिको विद्युतीय हवाईजहाज भएको कम्पनीको दाबी छ। यस विमानले तीनवटा फरक दूरीमा नयाँ विश्वकीर्तिमान गरेको समेत बताइएको छ ।
यूकेको विल्टशरमा नोभेम्बर १६ मा उक्त विमानका परीक्षण उडानहरू गरिएका थिए।
कम्पनीका निर्देशक फिल ओडेलले उडाउँदा स्फिरिट अफ इनभेशन विमानले सबैभन्दा तीव्र गति हासिल गरेको बताए ।
रोल्स–रोयसका अनुसार स्पिरिट अफ इनभेशनको गति यसअघि सन् २०१७ मा कीर्तिमान राखेको जीमन्स ईएअरक्राफ्टले बनाएको एक्स्ट्रा ३३० एलई एरोब्याटिक विमानभन्दा २१३.०४ किलोमिटर प्रतिघण्टाले बढी थियो।
तीन किलोमिटर उड्दा रोल्स-रोयसको विमानको गति ५५५.९ किलोमिटर प्रतिघण्टा र १५ किलोमिटर उड्दा ५३२.१ किलोमिटर प्रतिघण्टा पुगेको थियो।
३,००० मिटरको उचाइमा २०२ सेकन्डमा पुगेर यसले सबैभन्दा चाँडै त्यति माथि पुग्ने कीर्तिमान ६० सेकन्डले घटाएको बताइएको छ ।
यो विमानले ४०० किलोवाटको विद्युतीय पावरट्रेन प्रयोग गर्छ जसको क्षमता ५३५ बीएचपी सुपरकारको जति हुन्छ।