काठमाडौं। असोजमा नेपालभर फोरजी ग्राहक संख्या ६ लाख ८९ हजार ६३६ पुगेको छ। भदौमा एक करोड २१ लाख ७० हजार ५०५ रहेको फोरजी ग्राहक असोजमा बढेर एक करोड २८ लाख ६० हजार १४१ पुगेको छ।
असोजमा नेपाल टेलिकमले फोरजी ग्राहक बढी थपेको छ। भदौमा ६२ लाख ६८ हजार ०३९ रहेको फोरजी ग्राहक असोजमा तीन लाख ६६ हजार २६ ले बढेर ६६ लाख ३४ हजार ६५ पुगेको नेपाल दूरसंचार प्राधिकरणले जनाएको छ।
निजी क्षेत्रको एनसेलले असोजमा तीन लाख ३३ हजार ७०० फोरजी ग्राहक थपेको छ। भदौमा एनसेलसँग ५७ लाख २५ हजार ७८० रहेकोमा असोजमा बढेर ६० लाख ५९ हजार ४८० पुगेको प्राधिकरणले जनाएको छ।
यस्तै, असोजमा थ्रीजी ग्राहक संख्या भने निकै कम भएको छ। दूरसंचार सेवा प्रदायकहरु फोरजी विस्तारमा आक्रामक बन्नु र उपभोक्ताहरु फोरजी स्मार्टफोनमा झुम्मिनु थ्रीजी प्रयोगकर्ता घट्नुको कारण भएको देखिन्छ।
समग्रमा थ्रीजी प्रयोगकर्ता घटे पनि टेलिकमले भने बढाएको छ। भदौमा टेलिकमसँग एक करोड दुई लाख १२ हजार ७२६ थ्रीजी प्रयोगकर्ता रहेकोमा असोजमा ८९ हजार ६७२ ले बढेर एक करोड तीन लाख दुई हजार ३९८ पुर्याएको छ।
एनसेलको थ्रीजी ग्राहक संख्या भने एक लाख ५० हजार ६२६ ले घटेको छ। भदौमा २४ लाख ३५ हजार २७५ रहेको थ्रीजी ग्राहक असोजमा घटेर २२ लाख ८४ हजार ६४९ पुगेको प्राधिकरणले जनाएको छ।