काठमाडौं। बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिनका लागि रसुवा–टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम निर्धारित समयमा सम्पन्न नहुने भएको छ। ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी २०७६ मङ्सिर ४ गते बन्दरगाहको शिलान्यास गरिएको भएपनि हालसम्म बन्दरगाह निर्माणको काम १८ प्रतिशत मात्र भएको छ।
कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको द्विदेशीय व्यापारमा थप सहज बनाउने उद्देश्यसहित निर्माण भइरहेको रसुवा–टिमुरे सुक्खा बन्दरगाहको निर्माण निर्धारित समयमा सम्पन्न नहुने अवस्था सिर्जना भएको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिएका छन्। उक्त परियोजना निर्माणमा खटिएका सबै कामदारहरु चीनको भएको कारणले गर्दा कोभिडको समयमा आफ्नो देश फर्किएका हुनाले बन्दरगाह निर्माणको काममा ढिलाइ भएको कुरा उनले स्पष्ट पारेका हुन्।
हाल कोभिड महामारीको घट्दो क्रमसँगै द्रुत गतिमा आयोजना निर्माणको काम भइरहेको उनले जानकारी दिएका छन्। निर्माणमा खटिएका कामदारहरुले अबको डेढ वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उद्देश्यका साथ लागि परेर काम गरिरहेको उनको भनाइ रहेको छ। ५० हजार ९ सय वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको उक्त बन्दरगाहमा ५ तले कम्प्लेक्स निर्माण भइरहेको समितिका इन्जिनियर शोभाकान्त राउतले जानकारी दिएका छन्।
बन्दरगाह निर्माणमा ढिलाइ भएको कारणले गर्दा सामानको आयात तथा निर्यातमा समस्या परेको हुनाले यसलाई जतिसक्दो छिटो निर्माण सम्पन्न गर्ने गरी योजनालाई अघि बढाइएको छ।