जनकपुर। मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा सहयोग गर्ने भएको छ। सरकारले आठै वटा जिल्लामा रु दश।दश लाख सहयोग गर्ने भएको हो।
प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । राहत तथा उद्धार सामग्री खरिद गर्न आठवटै जिल्ला प्रशासन कार्यालयलाई तत्काल राहत रकम ठाउने निर्णय गरेको बताइएको छ।
प्रदेशका आठै जिल्लामा बाढी तथा डुबानको समस्या छ । त्यसलाई मध्यनजर गरी तत्काललाई प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि राहत रकम दिने निर्णय भएको बताइएको छ।
त्यसको समन्वय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी संस्था, स्थानीय विपद् व्यवस्थापन समिति र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत हुने पनि बताइएको छ।