काठमाडौं। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले हाल विद्यमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव नभएको बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र राष्ट्रिय टिमका खेलाडीबीच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले बजेटमा खेल क्षेत्रलाई उपेक्षा गरिएको बताएका हुन्।
युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा मन्त्रालयकै सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले मन्त्रालयको स्तर उकास्न अपरिहार्य रहेको जनाएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पहिचान गराउने खेलाडी र समग्र खेल क्षेत्रका लागि राज्यले न्युन मात्रामा बजेटको ब्यवस्था गरेको प्रति असन्तुष्टि व्यक्त गर्दै अथकले बजेटको दायरालाई फराकिलो बनाउनुपर्ने जानकारी गराएका हुन्।
त्यसैगरी खेल क्षेत्रमै आफ्नो ऊर्जावान समय बिताएका खेलाडीलाई राज्यले उचित व्यवस्थापन गर्न नसकेको उल्लेख गर्दै मन्त्री अथकले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पदक जित्न सफल हालसम्मका सबै खेलाडीहरुको उचित ब्यवस्थापनकालागि गहन छलफल गरीरहेका बताएका छन्।
खेलाडीहरुले खेल क्षेत्रमै जिवन देख्ने वातावरण तयार गर्न मनोबल, खेल पूर्वाधारको विकास तथा खेलाडीको व्यवस्थापनमा राज्य गम्भीर हुनुपर्नेमा मन्त्री अथकले जोड दिएका छन्। आफूले मन्त्रालय सम्हाले लगत्तै खेलाडीको व्यवस्थापनका लागि विभिन्न चरणमा छलफल चलाएको उल्लेख गर्दै खेल क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानी बढाउन राज्यले विश्वासको वातावरण सृजना गर्नुपर्ने उनको भनाइ रहेको छ।
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मन्त्रालयले सक्षम नेतृत्व पाएकाले खेल क्षेत्रको उल्लेखनिय विकास हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। साथै नयाँ खेलाडी उत्पादन तथा पुराना खेलाडीहरुको व्यवस्थापनमा विभागीय टिमको भूमिका प्रशंसायोग्य रहेको उल्लेख गर्दै उनलेले आगामी दिनमा पनि त्यस प्रकारका गतिविधिहरुलाई निरन्तरता दिन आग्रह समेत गरेका छन्।