भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिकाका १० वटा स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेसन उपकरण प्रदान गरिएको छ । अमेरिकी संस्था गर्डेन अफ द एन्जल्सले सूर्यविनायकका १० वटै वडाका स्वास्थ्यचौकीलाई कन्सन्ट्रेसन उपकरण प्रदान गरेको हो ।
उक्त संस्थाले १२ लाख मूल्य बराबरको उपकरण भोलिन्टियर्स नेपाल नेशनल ग्रुपको सहयोगमा नगरपालिकाभित्रका स्वास्थ्य चौकीमा वितरण गरेको नगरपाकिाका सामाजिक विकास समितिका संयोजक एंव वडा नम्बर ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिए ।
कोरोना भाइरसको महामारीले एउटा ठूलो पाठ सिकाएको भन्दै वडाध्यक्ष थापाले यस्ता उपकरणले विशेष परिस्थितिमा स्वास्थ्यचौकीसम्म आएका बिरामीलाई राहत मिल्ने बताए । नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख वसन्त चापागाइँले प्रत्येक वडाका स्वास्थ्यचौकीमा पुगेका ती उपकरणको सही उपयोग गराउने बताए ।