हुम्ला। हुम्लाको सर्केगार्ड गाउँपालिका–६ को बराई गाउँका स्थानीयको घर–घरमा खानेपानीका धारा जडान गरिएको छ। पागरपानी खानेपानी योजना निर्माण भएर बराई गाउँका ११३ घरमा धारा जडान गरिएको हो।
यसअघि सो गाउँका स्थानीय बासिन्दाहरु गाउँ नजिकैको मुलको पानी प्रयोग गर्दै आएका थिए। सिङ्गो गाउँका लागि एउटा मुलको पानी प्रयोग गर्नु पर्ने भएपछि बराईबासीले लाईनमा बसेर पानी प्रयोग गर्नुपर्ने हुन्थ्यो । अझ चैत वैशाख महिनामा मुलको पानी सुक्ने भएको कारण पानीको झनै सास्ती खेप्नु पथ्र्यो ।
अहिले घरमै खानेपानीको धारा जडान गरिएपछि स्थानीय खुसी भएका छन्। खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका प्रमुख अकल महतले दुई आर्थिक वर्षमा उक्त खानेपानी आयोजना सम्पन्न भएर सञ्चालनमा आएको बताएका छन्।
खानेपानीको धारा निर्माण र जडान समेत कार्यालयले निशुल्क दिएको छ। आर्थिक वर्ष ०७८।०७९ मा स्थानीय उपभोक्ता मार्फत सो खानेपानी आयोजनाका काम सुरु भएर आर्थिक वर्ष ०७९।०८०मा सम्पन्न भएर सञ्चालनमा आएको हो । यसका लागि कार्यालयले इन्टेक निर्माण, दश र बीस घनमिटर क्षमताका दुई वटा आरबिटी चार किलो मिटर टाढाको मुहानबाट पाईपलाई खनेर पानीको व्यवस्था गरिएको छ । आयोजना सम्पन्न गर्न दुई आर्थिक वर्षमा एक करोड साठी लाख बजेट विनीयोजित गरिएकोमा एक करोड पचास लाखमा सम्पन्न भएको बताइएको छ।