बारा। बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो।
बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
आज बिहान २ बजे जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक बस सडक दुर्घटना भएको हो । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।