काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताएका छन्। बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने शर्माले बताएका हुन।
उनका अनुसार अब विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको हुनुपर्यो। 'विद्यालय उद्योग हुनुपर्यो’ उनले भने ‘एकातिर पढ्ने जनशक्ति निर्माण गर्ने, अर्कोतिर उनीहरूको श्रम प्रयोग गरेर उत्पादन गर्ने व्यवस्था हुनुपर्यो।’ उनले समाजवादतिर जान हरेक विद्यालयले एउटा उद्यम गर्नैपर्ने जानकारी दिए। त्यसका लागि शिक्षक र शिक्षक संगठनले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए।
मन्त्री शर्माले पछिल्लो समय विद्यालय नयाँ खोल्नुभन्दा मेगा विद्यालय बनाउनुपर्ने जानकारी दिए। थोरै विद्यार्थी तर धेरै विद्यालय हुँदा गुणस्तरीय शिक्षा प्रदानमा समस्या भइरहेको भन्दै अब ठुलो मेगा विद्यालय बनाउनुपर्ने र त्यहीँ शैक्षिक प्रविधिलाई केन्द्रित गर्नुपर्नेमा शर्माले जोड दिए। जसले गर्दा जताततै विद्यालय नहुँने हुँदा विधार्थीले गुणस्तरिय शिक्षा हासिल गर्न पाउँने छन्।