काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षण गर्न जोड दिएकी छन्। संरक्षण गर्न सके समग्र संस्कृति र सभ्यताको संरक्षण हुने बताएकी हुन्।
महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रंगशाला उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश नं २ को सभ्यता र पर्यावरणमा चुरेको भूमिका महत्वपूर्ण रहेको जानकारी दिइन्। प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिलाक्षेत्रका राष्ट्रिय सम्पदा र यहाँको गौरवमय संस्कृतिको संरक्षणमा पहलकदमी लिन सम्बद्ध सबैपक्षसँग आग्रहसमेत गरिन्।
मुलुकको तराई क्षेत्र अन्न उत्पादनको उर्वरभूमि रहेको हुँदा कृषिमा नयाँ प्रविधिको प्रयोग र अभ्यास बढाउँदै किसानलाई आधुनिक खेतीतर्फ लाग्न आवश्यक सीप, प्रविधि र सुविधा बढाउन स्थानीय तह, प्रदेश र केन्द्रसहित तीनै तहका सरकारले पहलकदमी लिनुपर्ने राष्ट्रपति भण्डारीले बताइन्। जसले गर्दा कृषि क्षेत्रको विकास हुने पनि बताइन्।
उनका अनुसार तराईको जीवन चुरे पर्वतसँग अभिन्न रूपले जोडिएको हुँदा चुरेको संरक्षणमा समुचित ध्यान पुग्न आवश्यक रहेको पनि बताइन्। चुरेको संरक्षण विना तराईको समृद्धि सम्भव नरहेको समेत उनले बताइन्।
समारोहमा राष्ट्रपति भण्डारीलाई मटिहानी नगरपालिका, सांसद चन्दा चौधरी र महोत्तरी उद्योग वाणिज्य संघले मिथिला कला, संस्कृति झल्कने उपहार प्रदान गरेका थिए।सोही अवसरमा मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले राष्ट्रपतिलाई अभिनन्दनपत्र प्रदान गरे।