लहान। लहानस्थित प्रादेशिक अस्पतालको नामकरणमा दाता परिवारको नाम जोडिने र सय शय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अस्पतालको नामकरणमा दाता परिवारको नाम जोडिने र सय शय्याको अस्पतालमा स्तरोन्नति गरिने जानकारी दिएका हुन्।
लहान नगरपालिकाका नागरिक समाज, सञ्चारकर्मी, प्रदेश सभा सदस्यहरू तथा अस्पताल स्थापनाका लागि जग्गा दिने दाता परिवारसँगको सामूहिक भेटमा शुक्रबार उनले यस्तो बताएका हुन्।
“अस्पतालको नामकरण गर्दा २०७८ सालमा कसरी दाता परिवारको नाम छुट्यो, धेरै समयपछि मात्रै जानकारी भयो । दाता परिवारको नाम समावेश गर्न प्रयास गर्ने छु ।”उनले भने।
लहानमा अस्पताल स्थापनाका लागि रामकुमार शारडा र उमाप्रसाद मुरारकाले २०३७ सालमा एक बिघा १५ कट्ठा १० धुर जग्गा दिएका थिए । स्थापनाकालमा रामकुमार शारडा र उमाप्रसाद मुरारका अस्पताल नै नाम राखिएको थियो तर मधेश प्रदेश सरकारले २०७८ सालमा प्रादेशिक अस्पताल नामकरण गरेपछि दाता परिवारको नाम हटेको थियो । त्यसप्रति दाता परिवारले असन्तुष्टि जनाउँदै आएका छन् । अस्पतालको केही जग्गा अहिले पनि दाता परिवारबाट हस्तान्तरण हुन बाँकी नै छ ।