काठमाडौं। ५० शैयाको जिल्ला अस्पताल जाजरकोटमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। पूर्वमन्त्री तथा जाजरकोटका प्रतिनिधि सभा शक्तिबहादुर बस्नेतले बुधबार उद्धघाटन गरेसँगै अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त कार्यालय प्रमुखका अनुसार अक्सिजन प्लान्ट जडान भई सञ्चालनमा आएसँगै उत्पादन समेत थालिएको छ। स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा जडान भएको अक्सिजन प्लान्टको शुद्धता ९० प्रतिशतसम्म रहेको कार्यालय प्रमुखले जानकारी दिएका छन्।
यसमा जडान भएको बुस्टरले प्रत्यक दिन ४० लिटर क्षमताका ४० वटा सिलिन्डर भर्न सक्नेछ। सो अस्पतालमा ७५ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान भएको हो। दोस्रो कोरोना माहामारीको बेला अक्सिजन प्लान्टको अभावमा अक्सिजन सिलिण्डर भर्न नेपालगञ्ज, सुर्खेत पठाउनुपर्ने बाध्यता रहेको थियो। तर हाल उक्त समस्या हटेको कार्यलय प्रमुखको भनाइ रहेको छ। जाजरकोट अस्पतालमै अक्सिजन उत्पादन हुने भएकाले अब बिरामीलाई सेवा दिन एकदमै सजिलो हुने उनको विश्वास रहेको छ।
कम्तीमा पनि १० वर्षसम्म उक्त अक्सिजन प्लान्टद्धारा अक्सिजन उत्पादन हुने उनको भनाइ छ। यस प्लान्टले छिमेकी जिल्ला डोल्पा र रुकुमलाई पनि राहत पुग्ने जनाइएको छ। कर्णालीका सुर्खेत, जुम्लामा मात्र ५० शैयाको अस्पताल रहेको छ। अक्सिजन प्लान्टको उद्धघाटन गर्दैै पूर्वमन्त्री बस्नेतले ८ वर्षदेखि यता जाजरकोटको स्वास्थ्य क्षेत्रमा क्रमिक रुपमा सुधार आएको बताएका छन्।