काठमाडौं। नेपालमा वातावरणमैत्री इँटा बनाउने प्रविधि विस्तार गर्न सम्झौता भएको छ। दक्षिण कोरियाली सामाजिक प्रभावमुखी कम्पनी इन्नोसिएसआरले नेपालका २ इँट्टा उत्पादक कम्पनीसँग नवीनतम तथा वातावरणमैत्री इँट्टा बनाउने प्रविधि विस्तार गर्ने सम्झौता गरेको हो।
सम्झौता गरिएका कम्पनीमा इको ब्रिक र शिवशक्ति होम डेकोरेटिभ रहेका छन्। इन्नोसिएसआरको दिगोपना सहितको यो प्रविधिले इँट्टा उत्पादन गर्न लाग्ने समय उल्लेखनीय रुपमा घट्ने भई उत्पादकत्व बढ्ने र कोभिडका कारण श्रमिक अभाव र विश्वव्यापी रुपमा देखिएको कच्चापदार्थ अभाव भई इँट्टा उत्पादकलाई देखिएको समस्याको हल हुने अपेक्षा गरिएको छ ।
इन्नोसिएसआरले सन् २०१८ मा नेपालमा पहिलो पटक इँट्टा पोल्नु नपर्ने गरी माटोमा आधारित इँट्टा बनाउने प्रविधि भित्र्याएको थियो । गुड ब्रिक्स नामक यस प्रविधिले इँट्टामा रहेको माटोलाई स्थिर रुपमा राख्न विशेष सामग्री प्रयोग गरी बलियो, विश्वव्यापी स्तरको गुणस्तरीय इँट्टा उत्पादन गर्ने कम्पनीको दावी छ ।
नेपालमा सन् २०१५ को भूकम्पपछि भएको पुनर्निर्माणको लागि निर्माण सामग्रीको बढ्दो माग हुँदा कम्पनीको उल्लेखनीय वृद्धि भएको बताइएको छ ।