खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सोलार लिफ्टिङ सिँचाई प्रणाली सञ्चालन गर्न सहयोग आह्वान गरेको छ। पालिकाले वडा नं ३ च्याम्सिङटारमा सोलार लिफ्टिङ सिँचाई प्रणाली सञ्चालन गर्न जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन परियोजनासँग आर्थिक तथा प्राविधिक सहयोग माग गरेको हो ।
यहाँको भौगोलिक क्षेत्र विकट तथा सुख्खा भएकोले कृषि उपज उत्पादनको लागि वर्षाको पानीमा भर पर्नुपर्ने अवस्था छ । त्यसैले सो क्षेत्रमा सोलार लिफ्टिङ सिँचाई प्रणाली सञ्चालन गर्दा बेमौसमी तरकारी खेतीको सम्भवना रहेको पालिकाले जनाएको छ।
वडा नं ३ च्याम्सिङटारको दोवन दाल्फु क्षेत्रमा किसानहरुलाई कृषि उत्पादनमा जोड्ने लक्ष्य नगरपालिकाले राखेको छ। यसको लागि पालिकाले चालु आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा विभिन्न दातृ निकाय तथा संघ संस्थासँग लागत साझेदारी मार्फत् आधुनिक कृषि प्रणालीलाई वृहत्तर गर्ने उद्धेश्य राखेकाले आर्थिक तथा प्राविधिक सहयोग माग गरेको एक सूचना जारी गर्दै जनाएको छ ।