सुर्खेत। प्रदेश अस्पताल सुर्खेतमा अत्याधुनिक प्रविधिको एमआरआई मेसिन सञ्चालनमा ल्याइएको छ। करिब दुई महिनासम्म मेसिन जडान र प्रोसेसिङ प्रोग्रामहरु इन्स्टल गरेपछि शुक्रबार अस्पतालका निर्देशक डा.डम्बर खड्काले एमआरआई सेवा सुरु गरेका हुन्।
यो मेसिनबाट दैनिक ३५ देखि ४० जनालाई जाँच गर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्ससहितको आवाजविहीन उच्च गुणस्तरको छ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उलब्ध गराएको थियो । उक्त मेसिन नेपाली रुपैयाँ २९ करोड ७१ लाख परेको हो।
यो मेसिन २०२३ मा निर्मित भएर परीक्षण गरिएको मेसिन हो । चुम्बकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधिलाई एमआरआई भनिन्छ । यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ । त्यसले सही रूपमा रोग पत्ता लगाइ उपचार गर्न सजिलो हुन्छ ।
ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको संक्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई गर्ने गरिन्छ । मस्तिष्क र मेरुदण्डको ट्युमरको परीक्षण र उपचारका लागि पनि एमआरआई गर्ने गरिन्छ ।