रौतहट । सन्तपुर सडकको अवरोध हटेसँगै सडक पुन सञ्चालनमा आएको छ। ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि अवरुद्ध गरिएको सन्तपुर सडक दुई पक्षीय सहमतिपछि सुचारु भएको हो।
दुर्घटनाका मृतक परिवार र स्थानीय प्रशासनबीच गए राति भएको सहमतिपछि अवरुद्ध बाटो खुलेको हो। ट्रक चालकलाई कानुन अनुसार कडा कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि गएराति १० बजे मृतक उमेश राय यादवको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको थियो।
गए राति भएको दुई पक्षीय छलफलमा सिडिओ मिश्र, रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले ठक्कर दिने ट्रक चालक निजगढ ६ का ४१ वर्षीय मुकुन्द पोखरेल माथि कडा भन्दा कडा कारबाहीको माग र उचित क्षतिपूर्ति दिलाउने संयुक्तरूपमा प्रतिबद्धता जनाएपछि सहमति भएको थियो।
कोपवा बजारमा सिमेन्ट पुर्याएर निजगढ तर्फ जाँदै गरेको ना ५ ख ३४५१ नम्बरको ट्रकले सन्तपुर दोस्तिया चौकमा ना५१ पा ४९४१ को मोटरसाइकललाई ठक्कर दिदाँ चालक फतुवा विजयपुर १ का ३५ वर्षीय उमेश यादवको घटनास्थलमै मृत्यु भएको छ।